समाचार

सरकार छाडेका माओवादीका मन्त्री सरकारी निवासमै सुते

असार – ३०,काठमाडौं । पार्टीले सरकार छाड्ने निर्णय गरेलगत्तै माओवादीबाट मन्त्री भएका सबैले बुधबार प्रधानमन्त्रीलाई राजीनामा बुझाए । प्रधानमन्त्रीले पनि राजीनामा स्वीकृत गरिसक्नुभयो ।
उनीहरुले सम्हाल्दै आएको मन्त्रालयमा प्रधानमन्त्री सहित अरु मन्त्रीहरुले जिम्मेवारी लिनेगरी बाँडफाँड पनि भइसक्यो । तर मन्त्रालयको सबै जिम्मेवारी छाडेर हिँडेका माओवादी नेताहरुले सरकारी निवास छाड्न चाहिँ भ्याएका छैनन् ।
बुधबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएर मन्त्रालयको जिम्मेवारीबाट मुक्त भएका माओवादीका आठैजना मन्त्री पुल्चोकको मन्त्री निवासमै सुते । बिहीबार बिहान उठेर मात्र उनीहरु यताउता लागेका छन् ।
‘हिजो उहाँहरु सबै यहीँ सुत्नुभयो, कसैले पनि छाडेर जानुभएको छैन’ मन्त्री निवासका एकजना सुरक्षाकर्मीले बिहीबार बिहान भने, ‘अहिले चाहिँ कोही बाहिर निस्कनुभो, कोही भित्रै हुनुहुन्छ ।’
बुधबार मन्त्री निवासमै बसेपनि बिहीबारदेखि भने उनीहरु डेरामा सर्ने भएका छन् । माओवादीबाट सरकारको नेतृत्व गरेर गएका टोपबहादुर रायमाझी सातदोबाटोको पुरानै निवासमा सर्न लाग्नुभएको उहाँका सहयोगीले बताए ।
गृह मन्त्रालयको जिम्वेवारी सम्हालेका शक्ति बहादुर बस्नेत पनि बिहीबार नै भैंसेपाटीको डेरामा सर्दै हुनुहुन्छ । सामान्य प्रशासन मन्त्री हुनुभएकी रेखा शर्मा पनि बिहीबार नै सर्नुहुने भएको छ ।
गिरिजामणि पोख्रेल, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, गणेशमान पुन र उमेशकुमार यादव पनि मन्त्री निवासबाट डोरामा सर्ने तयारीमा छन् ।
तर माओवादीका नेताहरुले भने प्रायः सबै मन्त्रीहरुले बुधबार नै मन्त्री निवास छोडिसकेका र बिहीबार सबैले छोडिसक्ने बताएका छन् । 


यसमा तपाईको मत

On Air

Natonal News11:00 AM - 11:25 AM

Up Next

Namaste Bhojpur