समाचार

वृद्धभत्ताको लागि बैंक खाता खोल्न जाँदा बिते कृष्णबहादुर

उदयपुर, फागुन २ - उदयपुरमा वृद्धाभत्ता लिन बैंक खाता खोल्न जाँदा ८२ वर्षका कृष्णबहादुर राउतको ज्यान गएको छ । वृद्धाभत्ताका लागि अनिवार्य बैंक खाता हुनुपर्ने भएपछि त्रियुगा नगरपालिका-१२ धरमपुरका कृष्णबहादुर खाता खोल्न गएका थिए । त्रियुगा नगरपालिकाले स्थानीय कालिखोला माविमा खाता खोल्ने कार्यक्रम राखेको बेला विद्यालयमै वृद्धको ज्यान गएको नगरपालिकाले जनाएको छ । स्थानीय ७२ वर्षका ईश्वरबहादुर राउत र ८१ वर्षका प्रेमकुमार खड्काको साथमा लठ्ठी टेक्दै विद्यालय पुगेका कृष्णबहादुर विद्यालयको गेटमा पुग्ने वित्तिकै ढलेका थिए ।  

स्थानीय प्रेमबहादुर खड्काका अनुसार राउत विद्यालयको गेटमा उभिरहँदा भोमिट गर्न थालेका थिए । उहाँले भन्नुभयो ‘विद्यालयको गेटमा पुग्नासाथ चक्कर आएजस्तो गरे अनि हेर्दा हेर्दै एक्कासी ढले । उल्टी गर्दा गर्दै जिव्रो निकालि हाले । जिव्रोलाई मुखभित्र राख्न नपाउँदै प्राण गयो ।’नेपाल सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्ताका लागि बैंकिङ प्रणाली लागु गरेपछि त्रियुगा नगरपालिका गाईघाटले यस वर्षदेखि वृद्ध–वृद्धाले बैंकमार्फत भत्ता पाउनको लागि खाता खोल्न अनिवार्य गरेको छ । यस्तो व्यवस्थाले बैंक आसपासका वृद्धवृद्धाका लागि खासै असुविधा नभएपनि दुर्गमका बासिन्दालाई समस्या परेको त्रिनपा–१२ का पूर्व वडा अध्यक्ष इन्द्र थापाले बताउनुभयो । 



यसमा तपाईको मत

On Air

Up Next

Natonal News