समाचार

करिब ९ सय वर्षअघिको प्राचिन ढुंगेधारा भेटियो

भोजपुर फागुन २६
विश्वसम्पदा क्षेत्र स्वयम्भूमा करिब ९ सय वर्षअघिको प्राचिन ढुंगेधारा भेटिएको छ । एक महिनाअघि बाटो विस्तारका क्रममा पुरिएको अवस्थामा ढुंगेधारा निस्किएपछि स्थानीयले पुरातत्व विभागलाई खबर गरेका हुन् । विभाग टोलीले स्थलगत अध्ययनपछि उक्त धारा मध्यकालभन्दा पुरानो रहेको जानकारी दिएको हो ।
‘धाराको बनावट हेर्दा काठमाडौं उपत्यकाको ढुंगेधारा संस्कृतिसँग मेल खाँदैन,’ विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘यो मध्यकालभन्दा अघिको भन्न सकिन्छ ।’ त्यही क्षेत्रमा रहेका अन्य ढुंगेधारासँग पनि यसको बनोट मेल नखाएकाले यो करिब ९ सय वर्षअघिको हुनसक्ने उनले बताए ।
विभागका अनुसार काठमाडौं उपत्यकामा रहेका ढुंगेधाराको आमुख मकर आकारका रहेकामा स्वयम्भूमा भेटिएकोमा भने राँगाको टाउको आकारमा निर्मित छ । यस्तो किसिमका धारा पश्चिम नेपालमा भने अहिले पनि भेटिन्छ ।
विभागका प्रमुख पुरातत्व अधिकृत सौभाज्ञ प्रधानांगले ढुंगेधाराको बनोट हेर्दा मध्यकाल र लिच्छविकालीन समयसँग नमिल्दो रहेको बताए । ‘काठमाडौं उपत्यकामा लिच्छवि र मल्लकालीन समयका ढुंगेधारा पाइन्छन, तर कुन समयको भनेर किटान गर्न सकिने अवस्था छैन,’ उनले भनिन, ‘यसलाई माथिबाटै अध्ययन गर्दा मध्यकालभन्दा पुरानो देखिन्छ, लिच्छविकालसँग पनि मिल्दो भेटिँदैन ।’
हेर्दा सामान्य किसिमको देखिए पनि ठ्याक्कै कुन समयको भन्ने पत्ता लगाउन विस्तृत अध्ययन हुनुपर्ने उनले जनाइन् । धारो भेटिएको क्षेत्रमा बस्ती नै थियो–थिएन भन्नेबारे पनि अनुसन्धान गर्नुपर्ने उनले औंल्याइन् । ‘सामान्यतः ढुंगेधारा भेटिनुमा उक्त क्षेत्रमा त्यतिबेलै राम्रो बस्ती थियो कि भन्ने आँकलन हुन्छ,’ उनले थपिन, ‘तर त्यसो नहुन सक्छ । पहिले त्यहाँ स्वयम्भू जाने पुरानो गोरेटो हुनसक्छ । दर्शनार्थी पिउन र जल चढाउन धारो प्रयोग भएको हुनसक्छ ।’
विभागका एक पुरातत्व अधिकृतका अनुसार यसखाले ढुंगेधारा देशको पश्चिमी क्षेत्रमा अहिले पनि निर्माण भएको पाइएको छ । ‘यहाँ भेटिएको राँगाको टाउको आकारबाट पानी झर्ने गरेको देखिन्छ,’ उनले भने, ‘तर काठमाडौं उपत्यकामा पाइएका ऐतिहासिक ढुंगेधारामा मकर ९माछा० आकृति देखिन्छ ।’
विभाग टोलीले स्थलगत निरीक्षणपछि स्थानीयसँग सहकार्य गरेर त्यसको संरक्षण गर्ने जनाएको छ । ‘जमिनभन्दा तल छेकिएर रहेको अवस्थामा देखिएको छ,’ दाहालले भने, ‘त्यहीँ राख्ने भए धारो देखिने अवस्थामा राख्नुपर्छ, त्यहाँ नमिले छाउनी संग्रहालयमा राख्नेबारे छलफल गर्दैछौं ।’
स्थानीय अशोक तुलाधरले बाटो खन्दा ढुंगेधारा भेटिएपछि विभागलाई खबर गरेको जनाए । ‘पहिले पनि त्यहाँ ढुंगेधारा थियो भन्ने सुनेका थियौं, उनले भने, ‘बाटो फराकिलो बनाउन खोज्दा त यहाँ भेटियो र हामीले विभागलाई खबर गरेका थियौं,’ उनले भने, ‘बद्मासले इँटाले हानेर ढुंगेधारा बिगार्न खोजेकाले संरक्षण गर्न विभागलाई खबर गरेका हौं ।’
स्थानीयका अनुसार यो धारा पुरिएको धेरै भएको छैन । ६३ वर्षीया विष्णुदेवी शाहीले भनिन, ‘सानो छँदा हामीले नै यहाँ नुहाइधुवाइ गरेका थियौं, यहाँको पानी स्वयम्भूमा लगेर पूजा गर्ने चलन पनि थियो । दुइटा खुड्किलोबाट धारामा झर्नुपथ्र्यो । धारा निकै लामो थियो ।’ बाटो बनाउँदा र सँगै रहेको किमडोल जनजागृति खानेपानी समितिको ट्यांकी बनाउँदा समेत ढुंगेधारा ख्याल नगरिएकाले ऐतिहासिक धारा पुरिएको भनाइ स्थानीयको छ । समितिकी संयोजक चम्पा लामाले ०३२ सालमा ट्यांकी बनाउँदा ढुंगेधारा ट्यांकी नजिकै रहेको बताइन् ।
साभार   थिमि टाइम्स साप्ताहिक
 

 



यसमा तपाईको मत

On Air

Local News07:00 PM - 07:20 PM

Up Next

Sajha Khabar